एमालेका ३ सांसद पुनः निलम्बनमा
काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन्। एमाले संसदीय दलको निर्णयअनुसारसांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो।
‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।
उनीहरुले माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए। यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।
फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन। ज्वाला असार १ गते दलको बैठकमा सहभागी भएका थिए भने सोही दिन प्रदेश सभामा समेत बिपक्षमा बसेका थिए।