संघीय राजधानी नजिकै रहेको हेटौंडामा,नेपाल टेलिकमको दन्त बिजोग ‘टावर’ कुर्दै झुण्ड्याइन्छन् मोबाइल

काठमाडौं। मापदण्डहरु विकसित मुलुकका आधारमा बनाइने तर त्यसअनुरुप पूर्वाधार विकास नगरिँदा हेटौंडा उपमहानगर क्षेत्रकै ग्राहक नेटवर्क आउने प्रतीक्षामा मोबाइललाई बार्दलीमा झुण्ड्याउन बाध्य देखिएका छन् ।

 

हेटौंडा उपमहानगर क्षेत्रमै मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो ।

 

सञ्चारको युगका रुपमा रहेको समयमा वडा–१७ मा रहेको बुंगे गाउँमा मोबाइललाई घरको बार्दलीमा झुण्ड्याएर राख्नुपर्ने वाध्यता छ ।

 

 

मोबाइललाई घरमा झुण्ड्याएर राखिएको देखेपछि घरका एक सदस्यलाई सोध्यौं–मोबाइललाई किन यसरी झुण्ड्याएर राख्नुभएको?

 

 

उहाँले जवाफ दिनुभयो–के गर्नु हजुर, झुण्ड्याएर राखेको ठाउँमा त कहिलेकाँही टावर आउँछ ।आफन्तलाई फोन गर्न पाइन्छ कि भनेर यसरी राखेका हौं ।

 

 

मकवानपुरको सदरमुकाम भनेर चिनिने हेटौंडाका घरमा ल्याण्डलाइन र एडीएसएल कछुवा गतिमा इन्टरनेट सेवा चले पनि भित्री वडामा मोबाइल नेटवर्क र डाटा प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्क राम्रोसँग चल्ने नगरेको गुनासो गरेका छन् ।

 

गाउँघरका युवाले डाटा लिएर मोबाइलबाट प्रत्यक्ष भिडियो कल र सम्पर्क गर्न मोबाइल नेटवर्क प्रयोग गर्दै आएका छन् ।

 

 

लामो समयसम्म पनि नेटवर्कमा समस्या आउँदा पनि टेलिकमले सुनुवाइ नगर्दा आफूहरु घरबाहिर रहेका आफन्तबाट सम्पर्कविहीन हुनुपरेको हेटौंडा–१७ कि रमा घलान गुनासो गर्नुहुन्छ ।

 

घलानले भन्नुभयो–कुनै समयमा फोनको घण्टी बजिरहेको अवस्थामा हतारहतार घरबाट पाँच सय मिटरको दुरीमा निस्कनुपर्छ । अनि बल्ल उताबाट बोलेको सुनिन्छ । घरभित्रबाट बोल्नु त रहरमात्र हो ।

 

मकवानपुरमा हाल नेपाल टेलिकमले ७० वटा भन्दा बढी टावर राखेको छ । त्यसमध्ये उपमहानगरमा २५ वटा रहेको नेपाल टेलिकम मकवानपुर कार्यालयले जनाएको छ ।

 

मकवानपुरमा टावर नटिप्ने समस्या देखिनुमा जंगल तथा जति ग्राहकले टेलिकमको सिम चलाए, त्यहीअनुसार टावरको क्षमता घट्बढ हुने टेलिकमको भनाइ छ ।

 

कल कायम हुन लाग्ने समय, कल सफलता दर र आफैं कल काटिने दरलाई हेर्दा कम्पनीले तोकिएका मापदण्ड पूरा गरेको देखिँदैन।

 

 

बारम्बार मोबाइल सेवाको गुणस्तर कमजोर रहेको भन्ने उपभोक्ताको गुनासो आइरहेका बेला प्राविधिक परीक्षणले पनि त्यसलाई पुष्टि गरेको प्रतिवेदनहरुको दाबी छ ।

 

 

टावर र अन्य पूर्वाधारमा कमसल उपकरण प्रयोग हुनु, बढ्दो उपभोक्ता संख्याअनुसार क्षमता वृद्धि नगरिनु, नेटवर्क प्रवाहमा रोकावट गर्ने खालको भुगोल र गुणस्तर कायम गराउन कडा कारबाही नहुँदा टेलिकमले सेवाप्रवाहमा ध्यान नलिएको दाबी छ ।

 

 

मर्मतसम्भार र स्तरोन्नति नहुँदा मोबाइलको गुणस्तरमा सुधार नभएको हो ।वडा–१७ को बुंगेगाउँमा चेपाङ, तामाङको बाहुल्य छ । उक्त क्षेत्रमा पर्ने करिब १० वटा गाउँमा यस्तै समस्या रहेको स्थानीय भोजबहादुर तामाङले बताउनुभयो ।

 

वडा–१६ र १७ को सिमाना रहेको त्रिशुली खहरेबाट अधिकांश खहरेकै मार्ग हुँदै पुग्ने गाउँ हेटौंडा उपमहानगरपालिका भएर पनि निकै बिकट छन् ।

न्युज अफ नेपालबाट,