ओलीलाई सकसः फागुन २३ पछिका सबै निर्णय खारेज हुनुपर्ने माधव पक्षको अडान कायमै
काठमाडौं। केहि दिनदेखि बस्दै आएको नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दैछ । बिहीबार साँझ नेपाल पक्षका नेताहरुसँग सहमति नभए पछि फेरी आज (शुक्रबार) साढे ११ बजे सिंहदरबारमा कार्यदलको बैठक बस्न लागेको हो ।
माधव नेपाल पक्षका केहि नेताहरु बिहीबार साँझ आक्रोसित भएकाले ओली पक्षका नेताहरु नरम भएर आज बैठकमा सहभागी हुने पक्षमा रहेको देखिन्छ । आज विहानदेखि नै ओली र नेपाल पक्षका केहि नेताहरुविच अनौपचारिक छलफल भएको छ ।
फागुन २३ यता नेकपा एमाले अध्यक्ष ओलीले गरेका एकलौटी निर्णयहरु सबै खारेज हुनुपर्छ भन्ने प्रस्ताव नेपाल पक्षले राख्दै आएको छ ।
एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना सदस्य रहेको १० सदस्यीय कार्यदलले केही दिनयता सिंहदरबारस्थित अर्थमन्त्रालयमा वार्ता गर्दै आइरहेको छ । १० दिनयता विभिन्न छलफल र वार्ताहरु भए पनि निश्कर्ष निस्कन सकेको छैन ।
विहीबार साँझको छलफलपछि माधव पक्षका नेताहरुले वार्ताबाट कुनै प्रगति नभएको, ओली पक्षले ठोस प्रस्ताव नल्याएको र अदालतको मुद्दालाई प्रभावित बनाउन र अल्मल्याउन मात्रै खोजेको आरोप ओली पक्षमाथि लगाएको थियो ।