एमाले नेता प्रसाईंको सवारी दुर्घटनामा मृत्यु

झापा । झापा एमालेका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मेची अस्पतालले उनलाई मृत घोषणा गरिसकेको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

 

दुर्घटनामा परी बायाँ खुट्टा तथा शरीरको भित्री भागमा चोट लागि गम्भीर घाइते नेता प्रसाईको उपचारको क्रममा सवा १२ बजे मेची अस्पताल भद्रपुरमा निधन भएको थापाले जानकारी दिए । दुर्घटनाबाट कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । प्रसाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष हुन् ।