सबै नागरिकलाई चाडैं कोरोना खोप लगाउने प्रधानमन्त्रीको आश्वासन
काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीले अब चाडैं सबै नागरिकलाई कोरोना खोप लगाउने आश्वासन दिएका छन् । आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले उक्त कुराको आश्वासन दिएका हुनु ।
प्रधानमन्त्री ओलीले विगतमा केही समय कोरोना खोप अभाव हुने स्थिति देखिए पनि अब लगातार खोप आउने बताए । ‘हामी सबै नागरिकलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं, तर जबसम्म संसारबाट कोभिड-१९ समाप्त हुँदैन, हामी सजग हुनुपर्छ ।’
कोरोना खोप ल्याउनका लागि सरकारले नयाँ नयाँ सम्झौता गरिरहेको र त्यसका लागि संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले नेपालमा प्रचलित आयुर्वेद विज्ञानको शासक वर्गले प्रचार प्रसार नगरेका कारण नेपालीहरु धामी झाँक्रीमा विश्वास गर्न पुगेका बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा जस्तो सस्तो उपचार पद्धति कहिँ नभएको दावी गरे । ‘नेपालजति सस्तो उपचार सेवा अन्त कहिँ पनि छैन, स्वास्थ्य सेवालाई यत्तिकै सर्वसुलभ बनाउन महंगो हुन नदिन सावधानी अपनाउनुपर्यो’ उनले भने ।
कार्यक्रममा कोभिड १९ युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकिय अधिकृत प्रा.डा जागेश्वर गौतमले नयाँ भवनले कोभिड १९ विरुद्धको लडाइ जित्न सहज हुने विश्वास व्यक्त गरे ।