करेन्ट लागेर तिन जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं ।ताप्लेजुङ, मैवाखोला गाउँपालिका—३ तुम्बेस्थित मामाघर घर बस्दै आएका लाक्पा शेर्पाको छोरा १३ वर्षीय सबिन शेर्पाको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको खेतमा पानी लगाउन गएको अवस्थामा खेतमा ढलीरहेको बिजुलीको पोलमा रहेको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

तनहुँ, ऋषिङ गाउँपालिका—१ बस्ने २८ वर्षीय सञ्जु थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँ बस्ने लेख बहादुर गर्जा मगरको बनाउँदै गरेको नयाँ घरको सटिङ गर्ने क्रममा बिजुलीको मेन लाईन छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन, खैरहनी नगरपालिका—७ मझुई बस्ने ४० वर्षीय कैलाश सुनारको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । विद्युतको मेन लाईनमा हुक लगाई मोटरमा जोडी आफ्नै घर नजिकैको खेतमा पानी लगाउने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।