अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै

काठमाडौं। सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आठौं अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ। करिब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले यस पटक प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ ।

 

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो।

 

 

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने छ। ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो। तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन्।

 

 

यसअघि प्रतिनिधिसभा पुनः स्थापनापछि गत फागुन २३ गतेको पहिलो बैठकमा उक्त अध्यादेश पेस नभएपछि पुनः जारी गरिएको थियो ।

 

 

दोस्रो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि फेरि अध्यादेश जारी गरिएको थियो । ती अध्यादेश प्रतिनिधिसभाको पहिलो बैठकमा पेस गर्नुपर्छ ।

 

 

संवैधानिक परिषद्लगायत केही अध्यादेशका प्रावधानमा कांग्रेस, माओवादी केन्द्रलगायतको असहमति रहँदै आएको छ । प्रतिनिधिसभाको बैठक बसेको ६० दिनमा पारित नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ ।