ओली समूहको कार्यक्रम स्थलमा तोडफोड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले आयोजना गरेको कार्यक्रमस्थलमा तोडफोड भएको छ । मोरङको उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा बोलाइएको नगरस्तरीय विस्तारित बैठक हुन लागेको स्थानमा तोडफोड भएको हो ।

 

बिहीबार बिहानतिर ओली पक्षले मोरङको उर्लाबारीमा आयोजना गरेको कार्यक्रमस्थलमा तोडफोड भएको उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले बताए । कार्यक्रम १२ बजेबाट सुरु गर्ने तयारी भएको थियो । तर अज्ञात समूहले ११ बजे कार्यक्रमस्थल तोडफोड गरेको हो । गाडीमा आएका मान्छेहरूले तोडफोड गरेको उल्लेख गर्दै उनले तोडफोड गर्नेको खोजी भइरहेको बताए ।

ओली समूहले माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशङ्का गरेको छ । तर माधव समूहले कार्यक्रमका बारेमा जानकारी नै नभएको बताएको छ । माधव समूहका नगर संयोजक गङ्गा बास्तोलाले उनीहरूको आन्तरिक विवादमा घटना भएको हुनसक्ने बताए ।