अफगानिस्तानका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू

एजेन्सी । विद्रोही समूह तालिबानले धेरै ठाउँमा कब्जा जमाउन थालेपछि अफगानिस्तानको सरकारले देशका ३४ मध्ये ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको छ। अफगानिस्तानको गृह मन्त्रालयले राजधानी काबुल, पन्जशिर र नान्गाहरबाहेकका सबै प्रान्तमा राति १० देखि बिहान ४ बजेसम्म कर्फ्यू लगाइएको बताएको छ।

 

तालिबान विद्रोहीहरूले राति आक्रमण गरेर थप क्षेत्र नियन्त्रणमा नलिऊन् भनेर कर्फ्यू लगाइएको हो। अमेरिकी र नाटो सैनिक फिर्ता भएसँगै तालिबानहरूले अफगानिस्तानमा आफ्नो प्रभाव बढाएका छन्। उनीहरूले लगभग सबै ग्रामीण इलाकामा कब्जा जमाएका छन्।

 

विभिन्न विश्लेषकहरूले अब अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने खतरा औंल्याएका छन्। ६ महिनापछि राष्ट्रपति असरफ घानीको सरकार ढल्ने उनीहरूको विश्लेषण छ। यसैबीच तालिबानका प्रवक्ताले अफगानिस्तानमा शान्ति सुरक्षा चाहने हो भने राष्ट्रपति घानीले तत्काल पद छोड्नुपर्ने बताएका छन्।

 

समाचार संस्था एसोसिएट प्रेसलाई दिएको अन्तर्वार्तामा तालिबान प्रवक्ता सुहैल शाहिनले काबुलमा नयाँ सरकार नबनेसम्म अफगानिस्तानमा शान्ति स्थापना नहुने बताएका हुन्।

 

‘वार्तापछि असरफ घानी हटेर जब काबुलमा सबै पक्षलाई मान्य हुने सरकार बन्छ, त्यसपछि तालिबानले हतियार बिसाइदिन्छ,’ शाहिनले भनेका छन्,‘म यो स्पष्ट पार्न चाहन्छु कि तालिबान सत्तामा एकाधिकार राख्न चाहँदैन। विगतमा अफगानिस्तानमा जुन सरकारले सबै शक्ति आफ्नो हातमा लिन कोशिश गरे उनीहरूले असफल सरकार भएका छन्।’

 

घानीले भने अफगानिस्तानमा शासन गर्ने अधिकार गुमाइसकेको उनले बताए। तालिबान विद्रोहीको दबदबा कायम रहेकै बेला २० वर्षपछि अमेरिकी सैनिकले छोडेपछि अफगानिस्तानको भविष्य अन्यौलमा परेको छ।