कोरोना खोप नलगाएका पाकिस्तानीले देशभित्र जहाज चढ्न नपाउने
पाकिस्तान । पाकिस्तानले कोरोनाभाइरस विरूद्धको खोप नलगाएकाहरूलाई देशभित्र हवाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ।
पाकिस्तानी समाचार पत्र द डनका अनुसार नेसनल कमाण्ड एन्ड अपरेशन सेन्टरले खोप नलगाएका १८ वर्षमाथिका पाकिस्तानीलाई अगस्ट १ देखि आन्तरिक हवाई यात्रामा प्रतिबन्ध लगाएको हो।
हवाई यात्राबाट विदेश जाने र विदेशबाट आएकाहरूका लागि भने यो प्रतिबन्ध लागु हुने छैन। पाकिस्तानमा चीन र अमेरिकाले अनुदानमा खोप दिएका छन् भने कोभ्याक्समार्फत् पनि खोप आएको छ। तर अहिलेसम्म पूर्ण खोप लगाउने पाकिस्तानीको संख्या ५ प्रतिशतभन्दा कम छ।
पाकिस्तानमा १२ करोड ५० लाख मानिस खोप लगाउन योग्य छन्। खोप उपलब्ध भए पनि मानिसहरूले विभिन्न कारणले खोप लगाउन आनाकानी गरेको अध्ययनहरूले देखाएका छन्।
पाकिस्तानमा अहिलेसम्म १० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने २३ हजारले ज्यान गुमाएका छन्।