खोप लगाउन आउनेलाई पैसा दिने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार देशका स्थानीय सरकारलाई खोप लगाउन आउनेहरूलाई पैसा दिन आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् ।

 

अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

 

यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट ननिकालिने उनले बताए ।