राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध अदालतमा रिट दर्ता
काठमाडौं । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । बिहीबार विभिन्न कानुनविद्हरूले दल विभाजन सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
रिट निवेदनमा संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनुपर्ने र अध्यादेशका आधारमा भएका सबै कामकारबाही बदर हुनुपर्ने माग राखिएको सर्वोच्च अदालत स्रोतले बतायो । अध्यादेश संविधानसँग बाझिएको भनी दर्ता भएका निवेदनहरु संवैधानिक इजलासमा सुनुवाइ हुन्छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिश गर्ने निर्णय गरेको थियो । अध्यादेश प्रमाणीकरण भएकै दिन माधव नेपाल र महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गरेका छन् ।