एमाले समाजवादी दर्ता नगर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले आफ्नो नामसँग मिल्ने माधवकुमार नेपाल समूहको नेकपा एमाले समाजवादी दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

 

 

शुक्रबार एमालेका नेताहरूले आयोगमा पुगेर नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको भन्ने सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका हुन् ।

 

 

शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ (१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएका छन् ।

 

 

साथै १४ सांसदलाई पार्टीबाट निष्कासन गरेकाले उनीहरुको केन्द्रीय सदस्य पद पनि जानुपर्ने एमालेको माग रहेको बाबुराम दाहालले जानकारी दिए ।

 

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएलगतै माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएको थियो ।