दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व आज मनाइँदै
काठमाडौँ । भदौ कृष्ण प्रतिपदाका दिन यही वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ ।
विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ ।केही वर्षयता नेवारी बस्ती विकास भएको मुलुकका विभिन्न भागमा समेत यो दिन गाईजात्रा मनाउने गरिन्छ ।
जात्रामा आएकालाई पितृको स्मृतिमा फलाहार र दक्षिणा दिने प्रचलन पनि छ ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल हुनुभएकी रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन यो जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ ।
यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याऊनूू भनेर उर्दी दिएकाले आशौच परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ ।
निकैपछि यो पर्वलाई व्यङ्ग्यात्मक प्रहसन प्रस्तुत गरेर कुण्ठित भावलाई उजागर गर्ने गरिएपछि यसले जात्राका रूपमा लिएको हो भनिन्छ ।
ओमबहालस्थित धर्मचक्र महाविहारका गुठियार भुवन शाक्यका अनुसार निकै संवेदनशील र भावना जोडिएको यो पर्व जात्रामा परिणत हुनु राम्रो होइन, ठट्टा रमाइलोको विषय यो पर्वमा हुन सक्दैन भन्ने मत पनि सहर बजारमा विकसित भइरहेको छ ।
भक्तपुरमा गाईजात्राका दिन गरिँदै आएको प्रतियोगितात्मक प्रदर्शन कोरोना सङ्क्रमणबाट बच्न बचाउन रोकिएको छ ।भक्तपुर नगरपालिकाले यसको आयोजना गर्दै आएको थियो ।
भक्तपुरस्थित महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार यो दिन यहाँ हुने प्रसिद्व घिन्ताघिसी नाच सामान्य जमघटबीच हुन्छ भने मृतकको तस्बिर टाँसेर बाँसको त्रिखुट्टी बोक्ने तायमचा प्रदर्शन यहाँ हुन्छ ।
पाटनमा मृतकको स्मृतिमा द्वीप प्रज्वलन गर्दै नगर परिक्रमा गरिने मतयाः भने मङ्गलबार गर्ने तयारी छ ।
विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कू पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो।
संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउँछन् ।
हास्य व्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ ।
जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ ।
पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।
सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक बिदा दिइएको छ ।