नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आयो

काठमाडौँ । गए रातिदेखि पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएलगत्तै शुक्रबार बिहान ९ बजेदेखि सो सडक खण्ड पुनः सञ्चालनमा आएको हो ।

 

 

बिहीवार राति करिव ८ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर–२९ सेतिदोभानमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन शुक्रबार बिहान ६ बजेबाट पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

 

पहिरो हटाई दुईतर्फी नै सुचारु भएको छ, जाममा रहेका सवारीहरू गन्तव्यतर्फ पठाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक भगवानराज थापाले बताए । लगातार वर्षा भइरहेकाले सो सडकखण्डमा पहिरोको जोखिम कायम रहेकाले सतर्क भएर यात्रा गर्न उनले आग्रह गरेका छन् ।