नवलपरासीमा पहिरो जाँदा एकै परिवारका तीन बेपत्ता, एक घाइते

काठमाडौँ । अविरल वर्षाका कारण नवलपरासी पूर्वमा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन्। शुक्रबार हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी, उनकी नातिनीहरू सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएका हुन्।

 

 

बेपत्ता भएका तीन जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको छ। बिहान करिब २ बजे पहिरो गएको थियो।

 

 

प्रहरीका अनुसार ५० वर्षीय हस्तबहादुर पुलामीको घर पहिरोमा पुरिएको हो। पहिरोमा पुरिएका हस्तबहादुरलाई भने सकुशल उद्धार गरिएको छ। पहिरोमा पुरिएर घाइते भएका पुलामीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।