काबुल विमानस्थलमा फेरि हमला हुनसक्ने अमेरिकाको चेतावनी

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरीकलाई चेतावनी जारी गरेको छ । सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ छ ।

 

 

राष्ट्रपति बाइडेनले आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने  बताएका छन् ।  गत बिहीबार काबुल विमानस्थलमा नै भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो ।

 

 

काबुल विमानस्थलबाट अमेरिकी सेना पनि फर्किन थालेका छन् । गत हप्ता ५ हजार ८ सय सेना रहेकोमा हाल करिब ४ हजार सेना विमानस्थलमा रहेका छन् । ह्वाइट हाउसले अबका केही दिन थप चुनौतीपूर्ण र खतरनाक हुन बताएका छ । तालिबानले विमानस्थल वरपर चेकजाँचलाई थप बढाएको छ । दुई हप्ता यता १ लाख १० हजारभन्दा बढी अमेरिकी र अफगान नागरिकको अफगानिस्तानबाट उद्धार भइसकेको छ ।