माधवलाई रावलको जवाफ : अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा फर्किनु पर्ने हो

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काएका छन् । उनले आइतबार ट्वीट गर्दै जवाफ फर्काएका हुन् ।

 

 

शनिबार एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई अघि धकेलेर पछि हटेको बताएका थिए । उक्त भनाइको जवाफमा नेता रावलले अध्यक्ष नेपाललाई कोही कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने, पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने जवाफ दिएका छन् ।

 

 

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ रावलले भनेका छन्, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’

 

 

लामो समयसम्म अध्यक्ष नेपाललाई साथ दिएका रावलले नयाँ पार्टी खोल्न नपाउदै ओली नजिक भएका थिए । पहिले नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्ने रावल अहिले नेपालको विरोध गर्न थालेका छन् ।