एमाले र जसपाका जनप्रतिनिधिले २२ गतेसम्म नयाँ पार्टी रोज्न पाउने
काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ । निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले नयाँ दल रोज्ने जनप्रतिनिधिका लागि भदौ २२ गते बेलुका ५ बजेसम्मको समयसिमा तोकेको हो ।
यसअघि सनाखतमा छुटेका संघीय संसदका सांसदहरुले भने अब दल बदल गर्न पाउने छैनन् । तर, अध्यादेश अनुसार प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरुले भने नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र नयाँ दल रोज्न पाउँछन् । आयोगले त्यो २१ दिनको डेडलाइन २०७८ भदौ २ गते देखि २२ गते बेलुका पाँच बजेसम्मलाई तोकेको छ ।