एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो ।

 

 

पक्राउ पर्नेहरुमा निर्ग जैसी (नवीन) सहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् । उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।

 

 

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् । उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् ।