दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरको चक्कर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली आकाशमा बिना अनुमति भारतीय हेलिकप्टरले पटक–पटक चक्कर लगाएपछि भारतीय पक्षलाई चिठी पठाएको छ ।

 

 

हाल दार्चुलाका जयसिंह धामी बेपत्ता बनाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै संलग्नतमा रहेको प्रतिवेदन सार्वजनिक हुनु र उक्त स्थानमा भारतीय हेलिकप्टर घुम्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

 

बिहीबार प्रशासनले जिल्ला सुरक्षा समितिको बैठक बसेर भारत पिथौरागढस्थित जिल्ला अधिकारीलाई सम्बोधन गरेर चिठी पठाएको हो । उक्त कार्य आपत्तिजनक रहेको भन्दै प्रशासनले खबरदारी गर्न चिठी पठाएको जनाइएको छ । बिहीबार धेरै पटक भारतीय हेलिकप्टर नेपाली आकाशमा चक्कर लगाएको देखिएको थियो।

 

 

प्रशासनले जनाएअनुसार बिहीबार ७ पटकसम्म आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाएको थियो । तर, बिहीबार नेपालले चिठी लेखेपछि शुक्रबार भने हेलिकप्टर नदेखिएको प्रशासनले जनाएको छ । साथै, भारतबाट नेपालले पठाएको चिठीको जवाफ नआएको पनि प्रशासनले जनाएको छ ।