निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौँ । निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुखविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमाथिको सुनुवाई आज हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएका ती दुवै मुद्दाको पेशी प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा तोकिएको हो ।

 

 

यसअघि शुक्रबार उक्त मुद्दाको पेशी न्यायाधीश मीरा खड्काको एकल इजलासमा तोकिए पनि सुनुवाइ भने हुन सकेन । आज प्रधानन्यायाधीश आफैले उक्त मुद्दा हेर्ने छन् ।

 

 

एमाले अध्यक्ष ओलीले यही भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गर्न भनी संसद् सचिवालयमा पत्र पठाएका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुमाथि कारबाही नगरेको र संविधानले नदिएको अधिकार प्रयोग गर्दै पत्र रोकेर राखेको दाबीसहित ओली अदालत पुगेका थिए ।

 

 

साथै पार्टीबाट कारबाही गरिसकिएका सांसदहरुको समेत सनाखत गरी नेकपा ९एकीकृत समाजवादी० नाम नयाँ दल दर्ता गर्नु निर्वाचन आयोगको गम्भीर त्रुटि रहेको भन्दै ओलीले अर्को रिट दायर गरेका थिए । उनले समाजवादी पार्टीको दर्ता खारेज गर्न समेत माग गरेका छन् ।