चिकित्सकले गरे टाउको जोडिएका जुम्ल्याहाको शल्यक्रिया
काठमाडाैँ । इजरायलमा पछाडिपट्टि टाउको जोडिएर जन्मिएका दुई जना जुम्ल्याहाको सफल शल्यक्रिया गरिएको छ। इजरायलको सोरोका मेडिकल सेन्टरमा एक वर्षकी ती जुम्ल्याहाको आइतबार सफल शल्यक्रिया गरिएको हो ।
शल्यक्रियामा स्वदेश तथा विदेशका दजनौं विज्ञहरु संलग्न थिए । शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् । शल्यक्रियापछि दुबै बालिकाको अवस्था सामान्य छ । ‘उनीहरुले आफै खाइरहेका छन् र श्वासप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन्,’ सोरोका प्लाष्टिक सर्जरी विभागका प्रमुख एलदाद सिल्बरस्टिनले भने ।
इजरायलमा टाउको जोडिएका बच्चाको शल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० ओटा शल्यक्रिया भइसकेका छन् । शल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरुको टाउकोको छाला तन्काउन ताप प्रदान गर्ने सिलिकन व्याग राखिएको थियो । खोपडी अलग गरेपछि नयाँ छाला हालिएको थियो । टाउको जोडिएका ती बालिकाहरुको जन्म सन् २०२० को अगस्टमा भएको थियो ।