वीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड

 

काठमाडाैँ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लागेको ताला राजनीतिक दलका कार्यकर्ताले तोडफोड गरेका छन् । काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् ।

 

 

ताला फोड्ने क्रममा केहीबेर प्रतिष्ठान तनावग्रस्त बनेको थियो । त्यसक्रममा भएको दोहोरो झडपमा प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । ओपिडी सेवासमेत अवरुद्ध गरेर बिरामीहरुलाई दुःख दिएको भन्दै ताला फोड्न बाध्य भएको नेकपा एमाले धरान अध्यक्ष हर्क एभेङले जानकारी दिए ।

 

 

उनले अन्य कार्यमा आन्दोलनरत पक्षलाई सहयोग गरे पनि बिरामीको स्वास्थ्यमा खेलवाड गरेकाले प्रतिकारमा उत्रिएको बताए । उनले बिरामीहरुमाथि अन्याय नगर्नसमेत आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । संघीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले पनि शुद्धीकरण आन्दोलनप्रति समर्थन रहे पनि उपचार सेवा ठप्प नगर्न आग्रह गर्दा पनि नमानेपछि विरोधमा उत्रिएको बताए ।