सिमकोट र खार्पुनाथ गाउँपालिकामा मंगलबार राति विद्युत अवरुद्ध हुने

काठमाडौँ । हिल्दुम साना जलविद्युत आयोजनाको ओभरफ्लोको पाइप पहिरोले बगाउँदा मंगलबार रातिबाट सिमकोटसहित दुई गाउँपालिकामा विद्युत अवरुद्ध हुने भएको छ ।

 

 

बिहीबार बिहान गएको पहिरोले फर्बे ट्याङ्की नजिकको पाइप बगाएपछि हुम्ला सदरमुकाम सिमकोटलगायत दुईवटा गाउँपालिकामा बुधबार बिहान ६ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

 

 

हिल्दुम विद्युत वितरण केन्द्रका प्राविधिकसहितको टोलीले अस्थायी रुपमा मर्मत गरेर कम विद्युत उत्पादन गर्न लागिएको केन्द्रका प्रमुख साजन ऐडीले बताए ।साढे दुई सय किलोवाट विद्युत उत्पादन भइरहेकोमा अहिले एक सय किलोवाट विद्युत उत्पादन भइरहेकाले विद्युत आपूर्ति रोकिएको उनको भनाइ छ ।

 

 

 

रातभर विद्युत सुचारु राख्दा थप पहिरो जाने जोखिम देखिएपछि राति १० बजेपछि विद्युत आपूर्ति बन्द गर्न लागिएको उनले बताए । सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजार तीन सय विद्युतका ग्राहक छन् ।