ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउन आदेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले भदौ २८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेशी चढेको उक्त मुद्दामाथि अन्तरिम आदेश दिन हुने कि नहुने भन्ने विषयमा टुंगोमा पुग्नुअगावै दुवै पक्षसँग छलफल गर्नुपर्ने प्रारम्भिक सुनुवाइ भएको हो ।

 

इजलासले रिट निवेदक पक्ष र प्रतिवादी दुवैलाइ छलफलका लागि यही भदौ २८ गते अदालतत उपस्थित हुन भनिएको छ । यसअघि दुई दिन पेशी चढेर पनि सुनुवाई हुन नसकेको उक्त रिट निवेदनको पेसी आज (मंगलबार) का लागि प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको हो ।

 

 

 एमाले अध्यक्ष ओलीले यही भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गर्न भनी संसद् सचिवालयमा पत्र पठाएका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुमाथि कारबाही नगरेको र संविधानले नदिएको अधिकार प्रयोग गर्दै पत्र रोकेर राखेको दाबीसहित ओली अदालत पुगेका  थिए।