माधवजी एमालेमै फर्किनुस्, क्षमादान दिन्छौं : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन् । कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै उनले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताए । विभाजन गरेर गल्ती गरे पनि फर्केर गल्ती सच्याउन उनको आग्रह छ ।

 

 

‘माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल गर्‍यौं । तर छोडेर जानुभयो,’ उनले भने, ‘हामीले नेपाललाई धोका दिएको होइन, पार्टी फोड्ने धोकेबाज हो । उहाँले हामीलाई धोका दिनुभयो ।’

 

 

एमाले अहिले विशिष्ट स्थितिमा रहेको भन्दै यो संकट टार्न सबैसँग आग्रह गरे । २०५४ सालको पार्टी विभाजनले जस्तै अहिलेको विभाजनले पनि पार्टी समस्यामा फस्ने उनको भनाइ छ । पार्टी एकता कार्यदलमा सदस्य भएर काम गरेका उनले धेरै प्रयास गर्दा पनि पार्टी मिलाउन नसकेको बताए । नेताहरुको झगडाले ठूला घटना हुने भन्दै नेताहरुले नै सुधार्नुपर्ने सुझाव दिए ।

 

 

‘विदेशी शक्तिले खेलेर विभाजनमा सघायो । विदेशीहरु पनि खेल्छन् । यसपालि पनि खेले,’ उनले भने, ‘ तर उनीहरुलाई मात्र आरोप लगाउन आवश्यक छैन । हाम्रो आफ्नै दोष छ ।’ उनले विभाजनका कारण पार्टीलाई ५ देखि १० प्रतिशत हाराहारीमात्रै नोक्सान हुने दाबी गरे ।