सुदूरपश्चिममा एमालेका दुई इन्चार्जः अलमलमा कार्यकर्ता भन्छन्,कसलाई इन्चार्ज मान्ने

काठमाडौं।एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशमा आआफ्नो दाबी गरेपछि नेता कार्यकर्ता अन्योलमा परेका छन् । अब कसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको छ । रावल र भट्ट दुवै सुदूरपश्चिम आएर आफू नै इन्चार्ज भएको दाबी गरे । जसकारण प्रदेश इन्चार्जको विवाद सतहमा आएको छ ।

 

 

पार्टी अध्यक्ष केपी ओलीले रावलकै अगाडि आफूलाई इन्चार्जको जिम्मेवारी दिएको भट्टको भनाइ छ । उनी सोमबार सुदूरपश्चिम आएका थिए । पार्टीको कामले नभई पारिवारिक कामका लागि कञ्चनपुर आएका भट्टले आफैं सुदूरपश्चिमको इन्चार्ज भएको दाबी गरे ।

 

 

मंगलबार रावल कैलाली आइपुगे । धनगढी पुगेर कार्यकर्तासँगको भेटघाटमा उनले पार्टीलाई एकताबद्ध बनाउन आफू त्याग गर्न तयार रहेको अभिव्यक्ति दिए । तर उनले १० बुँदे सहमति कार्यान्वयनमा पनि जोड दिए ।

 

 

रावलको अभिव्यक्तिपछि उनी निकट नेता कार्यकर्ताले भट्टलाई इन्चार्ज मान्न नसक्ने बताउन थालेका छन् । रावललाई १० बुँदे सहमति कार्यान्वयनका लागि गठित प्रदेशस्तरीय समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

 

 

‘१० बुँदे सहमतिपछि पूर्णरूपमा २ जेठ ०७५ अघिको पार्टी संरचना सञ्चालन हुनुपर्दछ,’ एमाले केन्द्रीय सदस्य भानुभक्त जैशीले भने, ‘त्यसबाहेक पार्टी अघि बढ्न खाजेमा मान्य हुँदैन, सहमति कार्यान्वयन नभए त्यसको परिणाम अर्कै हुनेछ ।

 

 

पूर्ववनमन्त्रीसमेत रहेका जोशीले २ जेठ ०७५ अघि सुदूरपश्चिम प्रदेश इन्चार्जमा रावल भएको बताउँदै अब पनि उनी नै प्रदेश इन्चार्ज हुने बताए।

 

 

एमाले कस्तो हुने भन्ने ३ असोजको केन्द्रीय समिति बैठकले निर्धारण गर्ने उनको भनाइ छ । ‘आगामी ३ असोजमा एमाले केन्द्रीय समितिको बैठक बस्दैछ,’ उनले भने, ‘सो बैठकमा हुने निर्णयका आधारमा हामी एमालेमा रहने वा नरहने भन्ने निक्र्योल गर्नेछ, १० बुँदे विपरीत पार्टी गएमा हामी मान्दैनौं ।

 

 

 

रावल र भट्ट दुवैजना धनगढीमा आउँदा दुवै नेताबीच सुदूरपश्चिममा कुनै समन्वय भने भएको छैन । रावलले लामो समय काठमाडौं।अछाम नगएका कारण आफू गृहजिल्ला जान धनगढी आएको बताएका छन् । भट्टले पनि पारिवारिक कामका लागि आफू धनगढी आएको उल्लेख गरेका छन् ।

 

 

माओवादी केन्द्र छाडेर एमालेमा लागेका भट्टले भने खुल्ला रूपमा आफू नै सुदूरपशिचम प्रदेशको इन्चार्ज भएको बताएका छन् । रावल र आफूबीच तिक्तता नभएको उनको भनाइ छ ।

 

 

‘म धनगढी आउँदा रावल कम्रेडलाई जानकारी गराएको थिएँ,’ भट्टले न्युज कारखानासँग भने, ‘त्यसको एक दिनपछि उहाँले म पनि धनगढी आएँ भनेर भन्नुभएको थियो, तर हाम्रो भेट भने भएको छैन, उहाँ पनि व्यक्तिगत कामले आउनु भएको हो ।’ पार्टीले दिएको जिम्मेवारीअनुसार आगामी दिनमा अघि बढ्ने उनले बताए ।

 

 

 

एमाले उपाध्यक्ष रावलले भने अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई एमालेले सम्मान गर्ने बताए । मंगलबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमालेलाई ठूलो र बलियो बनाउन अन्य पार्टीबाट आएका साथीलाई सम्मान गरिनुपर्ने उनको भनाइ थियो ।

 

 

 

‘यसअघि अन्य पार्टीबाट एमालेमा आउँदा उनीहरूलाई दिइएको जिम्मेवारी यथावत राख्दै हामीले उनीहरूको सम्मान गर्नुपर्दछ,’ रावलले भने, त्यसो गर्दा एमाले बलियो हुन्छ । न्युज कारखाना