जिल्ला प्रहरी कार्यालय अछामले दशैँ – तिहार लक्षित सुरक्षा योजना लागु

काठमाडौं।जिल्ला प्रहरी कार्यालय अछामले दशैं-तिहारलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ। चाडपर्वका अवसरमा हुनसक्ने सम्भावित घटना तथा दुर्घटना रोक्ने गरी प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको हो।

 

 

 

चाडबाडमा हुनसक्ने चोरी, डकैती, ठगी लगायतका आपराधिक गतिविधिलाई रोक्न सुरक्षा योजना लागु गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए।

 

 

अछाम जिल्लामा शहरी र ग्रामीण क्षेत्र दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाएको र २४ वटा स्थानमा विशेष टोली परिचालन गरेको उनले जानकारी दिए।

 

 

जिल्लामा कार्यरत तीन सय सुरक्षाकर्मी मध्ये ८२ प्रहरीलाई दशैं-तिहारमा शान्ति सुरक्षा कायम गर्न परिचालन गर्ने उनले जानकारी दिए।

 

 

विशेष योजनामा सिमाक्षेत्रका चार स्थानमा नागरिक सहायता कक्ष र राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन पनि छन्।

 

 

यस्तै मोबाईल गस्ती, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विशेष सुरक्षा योजना, बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ।

 

 

चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै कोभिड महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा पनि कडाइ गरिनेछ।