नेपाल रेडक्रस सोसाइटी लंकू उपशाखा र वे ग्रुपको संयुक्त आयोजनामा दशैंको शुभकामना कार्यक्रम सम्पन्न
चितवन । भरतपुर महानगर वडा नं. ४ काे नेपाल रेडक्रस सोसाइटी लंकू उपशाखा एवम् वे ग्रुप नेपालको संयुक्त आयोजनामा विजयादशमी,शुभदिपावली,नेपाल सम्वत११४२, छठ तथा ईद पर्व २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम रेडक्रसको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले आफ्नो मन्त्रालयले महिला, जेष्ठ नागरिक, शिक्षा ,युवा लगायत ९ वटा क्षेत्रमा नीति निर्माण गरेर काम अगाडि बढाउने बताउँदै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि भरतपुर महानगर वडा नं.४ का वडा अध्यक्ष हरि प्रसाद आचार्यले वडावासी सम्पूर्णमा दशैंको शुभकामना व्यक्त गर्दै आफू वडाको विकासमा सदैव लागिपर्ने धारणा राख्नुभएको छ।
कार्यक्रममा रेडक्रसका निवर्तमान सभापति प्रेमकुमार गैरे, लोककल्याणकारी साकोस लंकूका अध्यक्ष नारायण प्रसाद कडेल, प्रगति महिला समुहको अध्यक्ष लक्ष्मी नारायणी कडेल, सरस्वती आमा समुहको अध्यक्ष सावित्री सापकोटा, सामुदायिक बचत कोष धर्मचोकका नीति निर्माण समिति सदस्य प्रेम कडेल लगायत उपस्थित हुनुहुन्थ्यो।
वे ग्रुपका सहसचिव शालिकराम आचार्यले उपस्थित सबैलाई दशैंको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वे ग्रुपका अध्यक्ष भोजनारायण कडेलले राख्नु भयो।
जीवन खरेलले सहजीकरण गर्नुभएको कार्यक्रमका सभाध्यक्ष नेपाल रेडक्रस सोसाइटी लंकू उपशाखाका सभापति हरिदास सापकोटाले उपस्थिति सबैलाई धन्यवाद दिदै दशैं, तिहारलगायतका चाडपर्वहरुको सांस्कृतिक अर्थ रहेकोले यसलाई भड्किलो रुपमा नमनाउन सबैलाई आग्रह गर्दै असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा बडादशैंको महत्वलाई लिनुपर्ने बताउँदै कार्यक्रमको समापन गर्नुभएको थियो। कार्यक्रममा वडावासीहरुको उल्लेख्य सहभागीता रहेको थियो।