बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे नियुक्त,को हुन् मुख्यमन्त्री पाण्डे,यस्तो छ राजनीतिक पृष्ठभूमि

काठमाडौं। नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन् । पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

 

प्रदेश प्रमुख शर्माले आज दिउँसो ३ बजेसम्मको लागि मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने समय दिएका थिए । मुख्यमन्त्रीको लागि पाण्डेबाहेक अरु कसैको दाबी परेन ।

 

 

पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् । पाण्डेले हिजो बुधबार नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । पाण्डेको शपथ आजै दिउँसो ३ः३० बजे भएकाे थियाे।  

 

 

प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी ‘जसपा’ को एक जना सदस्यले हस्ताक्षर गरेका थिए ।

 

केन्द्रीय गठबन्धनको सहमतिअनुसार बाग्मतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्वको अवसर पाएको हो ।

 

 

बाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा गरिए पनि औपचारिक रूपमा नेताहरूबाट पुष्टि हुने गरी भने बताइएको छैन ।

 

 

 

प्रदेश सरकार गठनका लागि आवश्यक ५५ बढी सांसदको समर्थन आवश्यक पर्नेमा गठबन्धनका तर्फबाट ५९ जना सांसदले साथ दिएपछि पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।

 

को हुन् मुख्यमन्त्री पाण्डे ?

 

पाण्डे एमाले विभाजन भई बनेको एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन् । एमालेमा रहँदा माधवकुमार नेपाल निकट रहेका उनी आफ्नो राजनीतिक जीवन विद्यार्थीकालबाटै सुरु भएको बताउँछन् ।

 

 

विद्यार्थी बेलामै पसेको राजनीतिक चेतले आफूलाई कम्युनिष्ट बनाएको बताउने पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुअघि उनले शिक्षण पेसा अंगालेका थिए ।

 

 

पाण्डे २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए । उनीसंग संघीय सरकारमा स्थानीय विकासमन्त्रीको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ ।

 

 

पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति, २०५० मा एमालेको अञ्चल सचिव, २०५५ पार्टीको केन्द्रीय सदस्यको भूमिकामा थिए ।

 

 

उनी राजनीतिक आन्दोलनका क्रममा २०३३ मा ४२ दिन जेल परेका थिए । सो क्रममा उनी पार्टीको जेल कमिटीको सदस्यसमेत बनेका थिए । उनी झापा आन्दोलनमा पनि सक्रिय भएर आफ्नो भूमिका निर्वाह गरेका थिए ।

 

 

 

उनलाई २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो । पाण्डेसँग २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्व समेत गरेको अनुभव रहेकाे छ ।