कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ६० जिल्लामा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदै।  

 

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार अहिलेसम्म १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन हुन लागेको छ । तर सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने अधिवेशन प्रक्रिया रोकिएको छ ।

 

 

 

आज प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

 

 

यो अधिवेशनबाट प्रतिनिधिसभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुनिनेछन् भने अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन्।

 

 

कांग्रेसमा एक प्रतिनिधिसभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन्। तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुन्छन्।

 

 

बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नुपर्दैन स्वतस् महाधिवेशन प्रतिनिधि हुन्छन् भने वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएरै आउनुपर्ने हुन्छ।

 

 

 

कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसकेको छ। यी जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधि पनि चुनिइसकेका छन्।

 

 

क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।

 

 

कांग्रेस केन्द्रीय निर्वाचन समितिकाअनुसार आज ६० जिल्लाका १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुन गइरहेको छ।

 

काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रसहित देशका विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा आज कांग्रेसको अधिवेशन छ।