मेडिकल कलेजमा अतिरिक्त शुल्क बढी लिएको भन्दै वैद्य निकट अखिल (क्रान्तिकारी)सहित ७ विद्यार्थी संगठनको आपत्ति
काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) सहित सत्तारुढ विद्यार्थी संगठनहरूले अतिरिक्त शुल्क विरुद्ध मेडिकल कलेजहरूमा भइरहेको विद्यार्थी आन्दोलनप्रति ऐक्यवद्दता जनाएका छन् ।
त्यस्तै आन्दोलनप्रति ऐक्यवद्दता जनाउने विद्यार्थी संगठनहरूमा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल,नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का प्रकाश शाही र देवेन्द्र कुंवरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलनप्रति ऐकवद्धता जनाएका छन् ।
मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत आफूखुसी शुल्क वृद्धि गरेकोमा संगठनका नेताहरूले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
राज्यले तोकेभन्दा बढी विद्यार्थीहरूबाट आफूखुसी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको र मणिपाल मेडिकल कलेज पोखरा, काठमाडौं मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थी आन्दोलित भएकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।संयुक्त विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यदी विद्यार्थीका माग सुनुवाइ नभएमा संयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यसबाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नुपर्ने भन्दै चेतावनी समेत दिइएका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियूलगायत सात विद्यार्थी संगठनको संयुक्त विज्ञप्तिमा भनिएको छ,’चिकित्सा शिक्षाका विद्यार्थीहरूको जायज मागहरूमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरूलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं ।