दक्षिण कोरियाली लगानी नेपालमा घट्यो

काठमाडौं। नेपालमा दक्षिण कोरियाली लगानी घट्दै गएको छ २०६६ सालको वैशाखदेखि चैतसम्ममा १५ कम्पनीमार्फत सवा चार करोड रुपैयाँमात्र नेपालमा लगानी भएको छ ।

 

 

२०६५ मा १२ करोड रुपैयाँ लगानीमा ११ कम्पनी स्थापना भएको थियो । गत वर्ष कोरियाली लगानीमा स्थापना भएको सबैभन्दा ठूलो कम्पनीमा पासा एसोसिएट्स र ललितपुरस्थित म्युजिक ट्रेनिङ इन्स्टिच्युट हुन् ।

 

 

उद्योग विभागको पछिल्लो तथ्यांकअनुसार यी दुवै कम्पनीमा ४५–४५ लाख रुपैयाँ लगानी भएको छ ।

 

 

२०६४ सालमा झन्डै ६ अर्ब रुपैयाँ बराबरको कोरियाली लगानीका २१ कम्पनी उद्योग विभागमा दर्ता भएका थिए ।

 

 

 

यसमध्ये धादिङमा ३ अर्ब ३९ करोड रुपैयाँको ल्यान्डमार्क हाइड्रोपावर र १ अर्ब ९८ करोडको अर्को एउटा जलविद्युत् आयोजना मुख्य रहेका थिए । त्यसपछि जलविद्युत्मा कोरियाली लगानी आएको छैन ।

 

 

नेपाल कोरियाली उद्योग वाणिज्य संघका नयाँ अध्यक्ष किरणप्रकाश साखका अनुसार नेपालमा कोरियाली लगानी घट्नुमा देशको वर्तमान राजनीतिक अवस्था कमजोर हुनु हो ।

 

 

 

नेपालमा काम गर्ने वातावरण नै नभएको साखको दाबी छ । बन्द हडताल र विद्युत् अभावले विदेशी लगानीकर्ताहरूलाई हतोत्साही बनाएको छ । ‘नेपालमा लगानीको भविष्य सुनिश्चित नदेखिएकाले पनि कोरियाली लगानी घटेको हुन सक्छ’ साखले भने ।

 

 

 

 

नेपालमा कोरियाली लगानीमा २०६६ सालसम्म कुल १ सय २० कम्पनीहरू स्थापना भएका छन् । विभागका अनुसार हालसम्म झन्डै ८ अर्ब रुपैयाँको कोरियाली लगानी नेपाल भित्रिएको छ ।आर्थिक अभियानबाट,