जनगणनाको तथ्यांक संकलमा लापर्बाही भएको भन्दै तथ्यांक सच्याउन पालिकाको माग

बाजुरा ।राष्ट्रिय जनगणना–२०७८ को तथ्यांक संकलमा लापर्बाही भएको भन्दै गौमूल गाउँपालिकाले सदरमुकाम मार्तडीमा बुधबार पत्रकार सम्मेलन गरेको छ ।

 

 

 

सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउन पत्रकार सम्मेलन गरेको गौमूल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

 

 

 

‘२०६८ सालको जनगणनामा गाउँपालिकाको संख्या ८ हजार ५ सय १५ रहेको थियो । २०७८ को प्रारम्भिक तथ्यांकमा ८ हजार ७ सय ६५ देखाएको छ’, उहाँले भन्नुभयो– ‘यो प्रारम्भिक तथ्यांक सरासर गलत छ, यसलाई सच्याउनुपर्छ ।

 

 

 

१० वर्षमा जम्मा २ सय ५० का दरले जनसंख्या वृद्धि भएको देखिएको छ । यो तथ्यांक गलत हुनुमा गणक नै दोषी रहेको उपाअध्यक्ष रोकायको आरोप छ ।

 

 

 

२०७५ सालमा घर–घरमा पुगेर गाउँपालिकाको पाश्र्वचित्र निर्माण गर्दा १० हजार ६ सय ९४ जनसंख्या रहेको थियो’, उपाध्यक्ष रोकायाको पश्न छ– ‘तीन वर्षपछि जनगणना हुँदा कसरी घट्यो?

 

 

 

जनगणनामा केहीको संख्या गणना नभएको भन्दै तथ्यांक कार्यलयमार्फत प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागमा ध्यानाकर्षणपत्र पठाइसकेको पनि उहाँले जनाउनुभयो ।

 

 

 

‘गाउँपालिकाले २०७८ सालमा गाउँपालिकाको पाश्र्वचित्र अध्यावधि गरिरहेको छ, जसमा गाउँपालिको प्रारम्भिक जनसंख्या ११ हजार ५ पुगेको छ’, उपाअध्यक्ष रोकायाले भन्नुभयो– ‘यो सार्वजनिक गर्न बाँकी नै छ।

 

 

यसै विषयमा तथ्यांक विभाग बाजुराका प्रमुख केशरबहादुर ओलीलाई सोद्धा उहाँ भन्नुहुन्छ– ‘केन्द्रीय तथ्यांक बिभागले अक्सर बसोबासका आधारमा जनगणना गरेको हो ।

 

 

जसले गर्दा स्थायीरूपमा बसोवास गर्नेको मात्र सम्बन्धित क्षेत्रबाट नामावली संकलन गरिन्छ ।’ ६ महिनाभन्दा बढी जहाँ बसेको छ त्यहीं ठाउँबाट संकलन हुने हुँदा पनि पहिलेको र अहिलेको जनसंख्यामा फरक परेको हुन सक्ने उहाँको भनाइ छ ।

 

 

प्रारम्भिक तथ्यांकअनुुसार बाजुराका १५ हजार ३ सय ४८ जना नेपाल बाहिर छन् ।

 

 

 

तथ्यांक कार्यालय बाजुराले दिएको तथ्यांकअनुसार २०७८ को प्रारम्भिक जनगणना अनुसार बाजुरामा १ लाख ३८ हजार ९ सय ९८ जनसंख्या छ।

 

 

 

२०६८ को जनगणनाअनुसार १ लाख ३४ हजार ९ सय १२ रहेको थियो । १० वर्षमा ४ हजार ३८ अर्थात् तीन प्रतिशतले बाजुराको जनसंख्या वृद्धि भएको देखिन्छ ।