बैंकिङ कसूर मुद्दाका फरार २ जना पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार २ जनालाई महाराजगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा तनहुँ ब्यास–९ वतन भई काठमाडौं-२६ सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्शन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक घर भई काठमाडौं–३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् ।

 

 

 

उच्च अदालत पाटनको गत मंसिर २४ गतेको फैसलाले सुरजलाई २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना र सुमितलाई २०७७ मंसिर १३ गतेको फैसलाले ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।

 

 

 

सुरजलाई आइतबार काठमाडौं गोंगबुबाट र सुमितलाई सोमबार लाजिम्पाटबाट फेला पारी पक्राउ गरिएको हो ।

 

 

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरूलाई झुक्याइ आ–आफ्नो बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।

 

 

 

फैसला कार्यान्वयनका लागि सुरजलाई जिल्ला अदालत ललितपुर र सुमितलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।