बन्दकर्ता र प्रहरीबीच झडप, घेरा तोड्दै संसद भवनतर्फ अगाडि बढ्दै

काठमाडौं ।राष्ट्रघाती एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)सहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा आव्हान गरिएको नेपाल बन्दको क्रममा बन्दकर्ता र प्रहरीबीच माइतीघरदेखि नयाँ बानेश्वरबीचको सडकमा पटक पटक झडप भएको छ ।

 

 

 

माइतीघर मण्डलाबाट एमसीसीका विरुद्ध नाराबाजीसहित संसद भवनतर्फ अगाडि बढेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्दा पटक पटक झडप भएको छ । बन्दकर्ताको जुलुस प्रहरी हस्तक्षेपका बाबजुद प्रहरी घेरा तोड्दै संसदभवन तर्फ अगाडि बढिरहेको छ ।

 

 

 

माइतीघरदेखि नै प्रहरीले बन्दकर्तालाई रोक्ने प्रयास गरेपनि बन्दकर्ताहरु खासगरी क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु प्रहरीको घेरा तोडेर बिजुलीबजारसम्मको पुलसम्म पुग्दा आधादर्जनभन्दा बढी पटक प्रहरीसँग झडप भएको थियो ।

 

 

 

झडपको क्रममा पुरुष प्रहरीले महिला बन्दकर्तालाई लछारपछार पारेपछि बन्दकर्ता प्रहरीमाथि आक्रोसित बनेका थिए ।

 

 

 

नारा जुलुसमा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा, पीवीएम सुरेश श्रेष्ठ, केस कृष्णभक्त महर्जन, दिपक शाही, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, महासचिव वसन्त बोगटी, अनेमसंघ (क्रान्तिकारी)कि महासचिव शारदा महत लगायत नेताहरुको समेतको उपस्थिति रहेको छ ।

 

 

 

 

आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् ।उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सामान्य धरपकडसमेत भएको छ ।

 

 

 

माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ ।विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले पनि एमसीसीको विरुद्धमा आज देशभर बन्द आह्वान गरेको छ ।

 

 

एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, दलालहरु होशियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु जुलसमा चर्को स्वरमा लगाइएको छ ।