दमन र धरपकडको घोर विरोध गर्दै गिरफ्तार नेता कार्यकर्ताको अविलम्ब रिहाइ गर्न महासचिव किरणद्वारा माग (प्रेस वक्तव्यसहित)
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले राष्ट्रघाती एमसीसी सम्झौता संसदमा टेबल गर्ने योजनाका विरुद्ध नेपाल बन्दको संघर्षमा उत्रिएका क्रान्तिकारी माओवादीसहित ६ वटा राजनीतिक पार्टीका नेता कार्यकर्तामाथि गरिएको दमन र धरपकडको घोर निन्दा एवम् तीव्र विरोध गर्नुभएको छ ।
उहाँले गिरफ्तार हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ता कमरेडहरुको अविलम्व रिहाइको माग गर्नुभएको छ ।
साथै, उहाँले वक्तव्यमा भन्नुभएको छ, अमेरिकी साम्राज्यवादको दलाल देउवा सरकारले जुनसुकै बेला एमसीसी परियोजनालाई संसदमा टेबुल गर्ने र छापामार शैलीमा त्यसको अनुमोदन गर्ने संभावना एकाएक बढेर गएको हुनाले यस प्रति चनाखो हुन र त्यसको खारेजीका लागि आवश्यक परेको बेलामा सडकमा ओर्लिन हाम्रो पार्टी सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी समूह तथा व्यक्तित्वलाई हार्दिक अनुरोध गर्दछ ।
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“हिन्द–प्रशान्त रणनीतिको अंश रहेको राष्ट्रघाति एमसीसी परियोजनालाई आज संसदमा टेबुल गर्ने र अनुकूल समयमा त्यसको अनुमोदन गराउने सरकारी योजनाका विरुद्ध हाम्रो पार्टी लगायत छ ओटा राजनीतिक पार्र्टीहरुले आह्वान गरेको शान्तिपूर्ण नेपाल बन्दको कार्यक्रममाथि देउवा नेतृत्वको गठबन्धन सरकार अन्धाधुन्द दमनमा उत्रिएर देशभरिबाट सयौं नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।
हाम्रो पार्टीबाट गिरफ्तार हुनुहुने कमरेडहरुमा पोलिटब्यूरो सदस्य द्वय प्रेम सुवेदी र पवनमान श्रेष्ठ, केन्द्रीय सदस्य राम नारायण सिंह, देजमो गण्डकीका अध्यक्ष नेत्र रानाभाट, ललितपुरका सेक्रेटरी श्याम केसी, सिराहाका सक्रेटरी संजय सिंह, तनहुँ जिल्ला सेक्रेटरी नारायण लम्साल, मंगल तामाङ, राजु भूर्तेल, प्रगति राना, बाबुलाल तामाङ, मनोज थापा, शंभु साह, ढक प्रसाद देवकोटा, हरि बस्नेत, बालकृष्ण थापा, बुद्धि विक, दीप बहादुर नेपाली लगायत पचासौं नेता तथा कार्यकर्ताहरु हुनुहुन्छ ।
त्यसै गरी आयोजक अन्य पार्टीहरुबाट माधव न्यौपाने, सन्तोष सुवेदी, शशी विक,रुपेश वाग्ले, पूर्णजित पुन, महावीर, राजु विक, रुपा विक, राजकुमार, शौरभ, अशोक, शशी, गोपाल व्लोन लगायत पचासौं नेता तथा कार्यकर्ता कमरेडहरु गिरफ्तार हुनु भएको छ ।
अमेरिकी साम्राज्यवादलाई खुसी पार्न देउवा सरकारले गरेको यो दमन तथा धरपकडको हाम्रो पार्टी घोर निन्दा तथा विरोध गर्दछ र गिरफ्तार हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ता कमरेडहरुको अविलम्व रिहाइको माग गर्दछ ।
अमेरिकी साम्राज्यवादको दलाल देउवा सरकारले जुनसुकै बेला एमसीसी परियोजनालाई संसदमा टेबुल गर्ने र छापामार शैलीमा त्यसको अनुमोदन गर्ने संभावना एकाएक बढेर गएको हुनाले यस प्रति चनाखो हुन र त्यसको खारेजीका लागि आवश्यक परेको बेलामा सडकमा ओर्लिन हाम्रो पार्टी सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी समूह तथा व्यक्तित्वलाई हार्दिक अनुरोध गर्दछ ।