सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदैनः प्रवक्ता डा.महत

काठमाडौं। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने बताएका छन्।

 

 

सत्तारुढ प्रमुख घटक कांग्रेस प्रवक्ता महतले सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था नरहेको बताए।

 

 

उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्कसमेत गरे।

तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको उनको प्रस्टीकरण छ।

 

 

 

प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरू जुट्नुपर्ने अवस्था रहेको दोहोर्‍याए।

 

 

स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको जानकारी दिए।

 

 

 

प्रवक्ता महतले भने, ‘गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो। त्यसमा समझदारी विकसित भइसकेपछि यो संकट टरेको छ। र, त्यो अब स्वाभाविक रुपमा यो गठबन्धन अगाडि बढ्छ ।

 

 

 

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यही दिन त्यो सम्पन्न हुन्छ। त्यसमा कुनै द्विविधा छैन। यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढ्छ ।

 

 

 

जहाँसम्म गठबन्धन सरकारमा बसेका दलले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय छ। स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि ।

 

 

 

स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति रहेको उनले बताए। उनले भने, ‘केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने विषय अव्यावहारिक हुन्छ।र, विधानतः पनि त्यो सम्भव हुँदैन।

 

 

त्यसकारण स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर कतिपय ठाउँमा समझदारी हुन सक्छ। कतिपय ठाउँमा दलले आफ्नो ढंगले गर्ने अवस्था पनि छ ।

 

 

तर, समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन। आवश्यक्ताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाइदा गर्छ भन्ने सिद्धान्तमा यो सम्पूर्ण कुरा निर्भर गर्छ। र, गठबन्धनमा सम्मिलित हरेक दलले दलभित्र यसको मूल्यांकन गर्लान् र एउटा निचोडमा पुग्लान्