एमसीसी सम्झौंता संसदबाट पारित भएसँगै प्रचण्डले धोका दिएको भन्दै माओवादी केन्द्रका जनप्रतिनिधिले दिए राजिनामा (विज्ञप्तिसहित)
काठमाडौ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धोका दिएको भन्दै कञ्चनपुरका एक जना जनप्रतिनिधिले पदवाट राजिनामा दिएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीमा कार्यकर्तालाई अध्यक्षले धोका दिएको भन्दै पदवाट राजिनामा दिएका हुन् ।
उनले एमसीसी सम्झौता संसदबाट पारित गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य भूमिका खेलेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का निर्वाचित वडाध्यक्ष बहादुरसिंह महराले पार्टी परित्याग गरेका छन् ।
बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष महराले माओवादीको सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधिसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै पार्टी परित्याग गरेको जनाएका छन् ।
‘राष्ट्रघाती सम्झौतामा म क्रियाशील पार्टी नेकपा माओवादी केन्द्रको मूल नेतृत्व प्रचण्डले आत्मसमर्पण गरी पास गर्न मुख्य भूमिका खेलेकोले हामी जस्ता इमान्दार कार्यकर्तालाई लज्जित बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘अब उपरान्त म राष्ट्रिय स्वाधिनताको पक्षमा निरन्तर अघि बढ्ने र त्यसको नेतृत्व गर्ने शक्तिसँग एकता, सहकार्य र ध्रुवीकरणको बाटोमा सरिक हुने प्रतिबद्धता सहितको जानकारी गराउँदछु र अन्य देशभक्त तथा क्रान्तिकारी मित्रहरूलाई पनि यस राष्ट्रिय स्वाधिनताको महान् अभियानमा सरिक हुन आह्वान गर्दछु ।