सत्ता गठबन्धननको निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो: अध्यक्ष नेपाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दावी गरेका छन्।
काठमाडौँमा बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमति भएको बताएका हुन्।
सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उनले आह्वानसमेत गरे।
निर्वाचनमा पनि हामी मिलेर जान्छौं। सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुपर्यो। ठीक मूल्यांकन गर्नुपर्यो। अरु पार्टीहरुको शक्ति कति छ, त्यसको पनि जानकारी हुनुपर्यो।
त्यसको मूल्यांकन गर्नुपर्यो’, उनले भने, त्यसपछि पारिस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने कुराको पनि सही विश्लेषण हुनुपर्यो। हामीले सिटको तालमेलका लागि उपयुक्त निर्णय गर्नुपर्यो। यसका लागि सिंगो पार्टी पंक्ति अब परिचालित हुनेछ।
उनले ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहमा पार्टीको उपस्थिति हुनुपर्नेमा जोड दिए। अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताए।
त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ छ।
नेता नेपालले सत्ता गठबन्धन तोड्नका लागि भयकंर षड्यन्त्र भएको दावी गरे। तर त्यो षड्यन्त्रलाई विफल पार्न आफूहरु सफल भएको उनको भनाइ थियो।
एमालेप्रति संकेत गर्दै उनले आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।