कञ्चनपुरमा थपिए १९ हजार मतदाता
कञ्चनपुर । कञ्चनपुरमा १९ हजार ८ मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सच्याउनुपर्ने, नामावली कार्ड हराएका र मृत्यु भएकाको विवरण निर्वाचन आयोगमा पठाउने काम सम्पन्न गर्दै छ।
नौ पालिका रहेको जिल्लामा हालसम्म १८ वर्षमाथिका मतदाता २ लाख ९७ हजार ३४१ रहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर संगीता विष्टले जानकारी दिइन्।
‘नामावली दाबी विरोधको अवधि सकिएपछि अहिले मृत्यु भएकाको विवरण संकलन गरेर आयोगमा पठाउने काममा खटिएका छौँ।’
उनले भने, ‘नामावली कार्ड हराएका र सच्याउनुपर्ने काममा लागेका छौँ।
०७७ माघ २५ गतेसम्म जिल्लामा दुई लाख ७८ हजार ३३३ मतदाता रहेको कार्यालयले जनाएको छ। ‘तीन लाख एक हजार ३७८ जनाको नामावली संकलन गरेर पठाएको विष्टले बताए।
उनले भने, ‘आयोगबाट दुई लाख ९७ हजार ३४१ मतदाताको विवरण आएको छ।
चैत मसान्तभित्र आयोगले जिल्लाको अन्तिम मतदाता नामावली उपलब्ध गराउने बताइएको छ। मंसिरयता दुई चरणमा कार्यालयले मतदाता नामावली संकलन गरेको थियो। कार्यालयका अनुसार हालसम्म भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ६७ हजार १७८ मतदाता छन्।
त्यसैगरी, वेदकोट नगरपालिकामा ३२ हजार ९५३, शुक्लाफाँटामा ३१ हजार ५४६, कृष्णपुरमा ४० हजार ५७३, दोधारा चाँदनी नगरपालिकामा २७ हजार ७४, बेलौरी नगरपालिकामा ३४ हजार ८८६, पुर्नबासमा ३४ हजार १८१, लालझाडी गाउँपालिकामा १४ हजार १७१ र बेल्डाँडी गाउँपालिकामा १४ हजार ७७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मृत्यु भएकाको विवरण आयोगमा पठाइसकेपछि मतदाता संख्या घट्ने देखिन्छ। विष्टले भने, ‘अन्तिम नामावलीका लागि केही समय पर्खिनुपर्ने हुन्छ।