नारायणहिटीभित्र पञ्चाङ्ग निर्णायक समितिसहित यी पाँच कार्यालय सारियो

काठमाडौं।नारायणहिटी दरबार परिसरमा रहेको परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग त्रिपुरेश्वरमा सरेपछि सो भवनमा ५ कार्यालय सरिएको छ ।

 

 

यसअघि प्रधानमन्त्री कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको कार्यालय राख्ने विषयमा द्वन्द्व भएको थियो । संस्कृति मन्त्रालयले हस्तक्षेप गरी आफ्नो मातहतको कार्यालय मात्र राख्ने तयारी गरेको थियो ।

 

 

 

तर पछि प्रम कार्यालयले विभिन्न मन्त्रालयको भाडाको घरमा रहेका केही कार्यालयलाई समेत नारायणहिटीमा व्यवस्थापन गर्नुपर्ने आग्रह गरेपछि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले आफ्नो मन्त्रालयबाहेकका दुईसमेत गरी चार कार्यालय नारायणहिटीमा सारिएको हो ।

 

 

 

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक सञ्चालन तथा व्यवस्थापन कार्यालय अन्तर्गत रहेको राहदानी विभागमा संस्कृति मन्त्रालय अन्तर्गत पञ्चांग निर्णायक समिति, तारागाउँ विकास समिति कार्यालय सारिएको छ ।

 

 

 

त्यस्तै परराष्ट्र मन्त्रालय अन्तर्गतको नीति तथा अनुसन्धान प्रतिष्ठान र परराष्ट्र मन्त्रालय मातहतको प्रतिलिपि अधिकारको रजिस्ट्रार कार्यालयलाई तथा गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र इकाइ कार्यालयसमेत सोही भवनमा राखिएको छ ।

 

 

समितिले आज शुक्रबार स्थानान्तरण भएका सम्पूर्ण कार्यालयको बारेमा जानकारी लिनेछ । अन्य कार्यालय राख्न दिने वा नदिने भन्ने विषयमा समेत निर्णय गर्ने तयारी गरेको छ ।

 

 

तत्कालीन राजपरिवारका निजी सचिवालय रहेको सो भवनमा दरबार संग्रहालय आफैंले संरक्षण गरी संग्रहालयका रूपमा विस्तार गर्ने तयारी थालेको थियो ।

 

 

 तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रका अधिकांश सचिवालय रहेको भवनमा कार्यालय सारेका कारण संग्रहालयलाई समस्या परेको छ । यसअघि पर्यटन मन्त्रालयले पुरातत्व विभागलाई स्थानान्तरण गर्ने तयारी थालेको थियो ।

 

 

 

सारिएका कार्यालयहरू पञ्चाङ्ग निर्णायक समिति, तारागाउँ विकास समिति, नीति तथा अनुसन्धान प्रतिष्ठान, प्रतिलिपि अधिकारको रजिस्ट्रार कार्यालय र राष्ट्रिय परिचयपत्र इकाइ ।