साँस्कृतिक र राजनीतिक सहिदहरुबाट उर्जा र उत्प्रेरणा लिंदै सशक्त रुपमा प्रतिरोध संघर्ष अगाडि बढाउनु पर्छ : महासचिव वैद्य

काठमाडौं । साँस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा इच्छुक सांस्कृतिक प्रतिष्ठान र अखिल नेपाल जनसांस्कृतिक महासंघको संयुक्त आयोजनामा “प्रतिरोधी संस्कृति निर्माणका चुनौतीहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

 

 

इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी र सञ्चालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले गर्नुभएको थियो ।

 

 

 

अन्तर्क्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य चैतन्य र वक्ताहरुको रुपमा निनु चापागाईं, प्रा.डा. जगदिशचन्द्र भण्डारी, रोशन जनकपुरी र अम्बिका मुडभरीले महत्वपुर्ण विचार व्यक्त गर्नुभएको थियो ।

 

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चैतन्यले प्रतिक्रियावादी र संशोधनवादी सत्ता र संस्कृतिका विरुद्ध क्रान्तिकारीहरुले महान जनयुद्धका साँस्कृतिक र राजनीतिक सहिदहरुबाट उर्जा र उत्प्रेरणा लिंदै प्रतिरोध संघर्षलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नु भएको छ ।

 

 

उहाँले तत्कालीन प्रतिक्रियावादी सत्ताले क्रुरतापुर्वक च्याङ्वा लामालगायत साँस्कृतिक योद्धाहरुको हत्या गरेको संस्मरणमा साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको सन्दर्भको चर्चा गर्दै महान जनयुद्ध संसदीय प्रतिक्रियावादी व्यवस्थाका विरुद्धको समग्र प्रतिरोध भएको बताउनु भयो ।

 

 

जनयुद्ध र नयाँ जनयुद्धमा भएको बलिदानले व्यवस्थाविरुद्धको प्रतिरोधी संस्कृति निर्माणमा महत्वपुर्ण योगदान पुर्याएको चर्चा गर्दै वर्तमान सामन्त, दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थाका विरुद्ध नयाँ प्रतिरोधी संघर्ष निर्माणमा जोड दिनुभयो ।

 

 

 

प्रतिरोधी संस्कृति प्रतिरोध संघर्षसँग सम्बन्धित रहेको चर्चा गर्दै यो नयाँ जनवादी तथा वैज्ञानिक संस्कृतिसँग सम्बन्धित रहेको कुरा समेत स्पष्ट पार्नु भयो ।

 

 

उहाँले संस्कृति मानव निर्मित भएको र संस्कृति आम श्रमिक जनवर्गको हितमा आधारित हुने विचार व्यक्त गर्नुभयो ।

 

 

उहाँले कम्युनिस्ट क्रान्तिकारीहरुको साँस्कृतिक मुल्यका विषयमा आफ्नो विचार स्पष्ट पार्दै भन्नुभयो, सर्वोच्च साँस्कृतिक मुल्य भनेको सत्यम्, शिवम् सुन्दरम् हो । सत्यम भनेको असत्य, झुठका विरुद्ध सत्यको पक्षमा दृढतापुर्वक उभिनु हो ।

 

 

 

शिवम् भनेको हित हो । अर्थात् श्रमजीवी जनताको हित र कल्याणको पक्षमा उभ्याउनु । र, सुन्दरम् भनेको संगती९हार्मोनी० अर्थात् सबै अन्तरविरोधहरुको समाधान हो ।

 

 

प्रतिक्रियावादी, संशोधनवादी, क्रान्तिकारी गरि तीन किसिमका संस्कृतिहरुको चर्चा गर्दै प्रतिक्रियावादी र संशोधनवादी संस्कृतिको सशक्त प्रतिरोधका बीचबाट नै क्रान्तिकारी संस्कृतिको निर्माण हुँदै जाने विचार पनि व्यक्त गर्नुभयो ।

 

 

मार्क्सवाद-लेनिनवाद-माओवादको वैचारिक आलोकमा राजनीतिक प्रतिरोधसँग साँस्कृतिक प्रतिरोधलाई पनि सशक्त बनाएर लैजानुपर्ने बताउनु भयो ।

 

 

त्यसैगरी कार्यक्रममा सौन्दर्य चिन्तक निनु चापागाईंले साँस्कृतिक आन्दोलन पनि वैचारिक आन्दोलन नै भएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्टहरुले पनि आचार व्यवहारमा कम्युनिस्ट सँस्कृतिलाई जीवन पद्धति बनाउन नसकेको बताउनु भयो ।

 

 

प्रभुत्वशाली सँस्कृति र सत्तालाई धुलिसात बनाउने उद्देश्य नै प्रतिरोधी संस्कृतिको उद्देश्य हुनुपर्ने धारणा राख्दै उहाँले सर्वहारा साँस्कृतिक क्रान्तिको आवश्यकतामाथि जोड दिनु भयो ।

 

 

अर्का वक्ता प्रा.डा. ताराकान्त पाण्डेयले उपभोक्तावादी संस्कृतिले जनस्तर र सामाजिक स्तरमा समेत जरा गाड्न पुगेकोले कम्युनिस्ट क्रान्तिकारीहरुले त्यस्तो प्रतिक्रियावादी संस्कृतिको सशक्त प्रतिरोधका निम्ति आलोचनात्मक चेतलाई बढाउनु पर्नेमा जोड दिनुभयो।

 

 

त्यसैगरी मार्क्सवादी लेखक रोशन जनकपुरीले जातीय, क्षेत्रीय, र लैङ्गिक मुद्दाहरुले वर्गीय मुद्दालाई ओझेलमा पार्दै लगेको चर्चा गर्दै वर्गीय मुद्दालाई प्रधान बनाएर प्रतिरोधी संघर्ष उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

 

त्यसैगरी महिला नेतृ अम्बिका मुड्भरीले वर्तमा सत्ता र व्यवस्थाले महिलामाथि लादेको बहुआयामिक शोषण र उत्पीडनका विरुद्ध सशक्त प्रतिरोध संघर्षको आवश्यकता रहेको चर्चा गर्दै लैङ्गिक उत्पीडन पनि वर्गीय उत्पीडनको विस्तारित रुप भएकोले वर्ग संघर्ष र प्रतिरोध संघर्षलाई एकसाथ अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

 

 

कार्यक्रममा वक्ताहरुले राखेको विचारमाथि सहभागीहरुले केही जिज्ञासा र सुझाबहरु समेत राखेका थिए।