नेताहरु एक अर्कासँग डराउनु भनेकै कम्युनिस्ट एकता नहुँनु होः नेता भुसाल
काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले कम्युनिस्ट नेताहरू एकसँग अर्को डराउँदा कम्युनिस्ट एकता धरापमा परेको बताएका छन् ।
भुसालले कम्युनिस्ट एकतामा कृत्रिम रूपले गालीगलौजको भरमा बनाइएको दूरी ‘भत्काउन सके एकता गर्न सकिने पनि बताएका छन् ।
निर्वाचनमा वाम एकताका विषयमा आफूले उठाउँदै आएका विषय जानकारी गराउन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका भुसालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एकार्कासँग डराउँदा कम्युनिस्ट राजनीति जोखिमतर्फ उन्मुख भएको बताए ।
आसन्न चुनावमा वाम एकता हुने प्रशस्त सम्भावना रहेको भन्दै उनले पार्टी एकताका लागि छलफल चलाउन आवश्यक भएको बताए । नेता भुसालले नेकपा विभाजनमा मुख्य ‘प्लेयर’हरू अहिलेका तीन अध्यक्ष भएको जिकिर गरे ।
आफूहरू पनि सहायक भएको भन्दै उनले पद र भूमिकाअनुसार विभाजनमा योगदान र पसिना सबैले बगाएको बताए । “साना मिहिनेतले अहिले बर्बाद भएको हैन। यसको आधारमा हामीले जिम्मेवारी लियौँ भने यो चुनावमा गठबन्धन बन्न सक्छ,” उनले भने ।
अबको कम्युनिस्ट एकता नेताहरूको व्यक्तिगत स्वार्थमा नहुने पनि उनले बताए । नेताहरूको स्वार्थको आधारमा एकता हुँदैन भन्ने बुझिएको छ । अब एकता हुँदा निजी स्वार्थमा टेकेर एकता भयो भने हालत यस्तो हुनेछ भनेर हामीले थाहा पाइसक्यौँ, उनले भने ।
उनले हिजोभन्दा आज सहज अवस्था भए पनि कृत्रिम रूपले दूरी बढाइएको बताए । कृत्रिम रूपमा बनाइएको दूरी र कम्युनिस्ट आन्दोलनको विभाजनमा हामी जिम्मेवार छौँ भन्ने महसुस भयो भने यो चुनावमै गठबन्धन हुनसक्छ,” भुसालले भने, “चुनावमा गठबन्धन बन्ने प्रशस्त सम्भावना छ ।
यसलाई नकारे कुनै नेतालाई मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनमाथि नै घात हुन्छ ।