ललितपुरमा टाइफाइडविरुद्धको खोप चैत २५ देखि वैशाख ८ गतेसम्म दिइने,यो खोप लगाएपछि कस्ता असर देखिन सक्छन् ?
काठमाडौं । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
त्यस्तै मंगलबार जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले अन्तरक्रिया कार्यक्रम गर्दै आगामी चैत २५ देखि वैशाख ८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ।
१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले जानकारी दिनुभयाे। ललितपुर जिल्लाका ६ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने उँहाले बताउनु भयाे ।
स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको तालिका अनुसार ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म र कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म खाेप कार्यक्रम सञ्चालन गरिने विष्टले जानकारी दिनुभयाे।
जिल्लाका स्वास्थ्य संस्था र स्थानीयलाई पायक पर्ने स्थानमा खोप केन्द्र सञ्चालन गरिने र खोप वितरण र व्यवस्थापनको लागि स्वास्थ्य कार्यालयले करिब ५७ लाख बजेट छुट्याएको प्रमुख विष्टले बताउनु भयाे।
बालबालिकालाई खोप लगाउने कार्यक्रममा अभिभावक अनिवार्य उपस्थित हुनुपर्ने उँहाले बताउनु भयाे।
पहिलो पटक अभियानको रुपमा बालबालिकालाई यो खोप लगाउन लागिएको भए पनि वैशाख १८ गतेपछि भने यो खोप नियमित खोपमा नै समेटिने बिष्टले बताउनु भयाे।
विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड रोग चौथोमा पर्ने देखिएको छ।
‘पछिल्लो अध्ययन अनुसार नेपालमा ८२ हजार ४४९ टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ । टाइफाइड रोगको संक्रमण सबै उमेरका समूहमा हुन्छ । संक्रमित हुने ६० प्रतिशत १५ बर्षमुनिका बालबालिका रहेकाे उँहाले बताउनु भयाे।
विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र नेपाल हो ।
टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ ।
खोप अभियानका क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गर्ने स्वास्थ्य कार्यलयले जनाएको छ । करिब १० हजार स्वास्थ्यकर्मी र अभियानमा १ लाख १२ हजार ८५८ जना स्वयंसेवक परिचालन हुनेछन् ।
कन्ज्युगेट भ्याक्सिन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकाले सुरिक्षत रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएककककाे छ।
परीक्षणको क्रममा टाइफाइड विरुद्धको खोप नेपालमा ल्याइएको होइन । क्लिनिकल परीक्षणको चरण पार गरेर सुरक्षित र प्रभावकारी पाइएपछि प्रयोगमा ल्याइएको हो । कन्ज्युगेट भ्याक्सिनको ८५ प्रतिशत प्रभावकारिता रहेकाे छ ।
खोप लगाएपछि कस्ता असर देखिनसक्छन्
टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य सूई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् ।
खोप लगाएपश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।
यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन ।
साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ ।
तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।
गर्भवति महिला, स्तनपान गराई रहेका महिलाले यो खोप लिन हुँदैन ।
टाइफाइड के हो ?
टाइफाइड साल्मोनेला टाइफीबाट हुने गम्भीर रोग हो। जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ।
विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जना भन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि भएको पाईएको छ। विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खाना जन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये यो रोग चौथोमा रहेको देखिएको छ।