देशभरका बालबालिकालाई बैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधी खुवाइँदै
काठमाडौं ।यही बैशाख ६ र ७ गते देशभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिएको छ।
सोही दिन ६ देखि २३ महिनासम्मका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा दिइने महाशाखाले जनाएको छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण कार्यक्रम हुँदै आएको छ।
वर्षमा २ पटक हुने यस कार्यक्रमअन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ए क्याप्सुल पाउनेछन् । साथै ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै आएको छ। भिटामिन ए कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् ।
६ महिनादेखि ५ वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ए खुवाउन सुरु गरिएको हो ।
बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।