गठबन्धनको शक्ति देखेर केपी ओलीले प्रतिगामी र अवसरवादी तत्वहरुसँग तालमेल गरे : वरिष्ठ पौडेल
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताएका छन्।
मंगलबार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा (एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताएका हुन्।
सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उनले बताए। वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभइ व्यवस्थाको लागि बनेको दाबी गरे।
लोकतन्त्र, नेपालको परिवर्तनहरुलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि गठबन्धन बनेको उनले स्पष्ट पारे।
उनले गठबन्धनका दलहरुले आ–आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरुसम्म एकतावद्ध भएर जानुपर्ने बताए।
उनले भने, ‘अहिले पनि लोकतन्त्र सुनिश्चित भएको छैन। अहिले पनि लोकतन्त्रको लागि लड्ने लडाइँ बाँकी छ। त्यसो भएको हुनाले हामी सबैले सतर्क हुनुपर्ने आवश्यकता छ।