विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने:बास्तोला र वलीलाई सच्चिएर पार्टीमा फर्किन विप्लवको आव्हान

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा पार्टीको नवौँ महाधिवेशन गर्ने मिति घोषणा गरेको छ । गत १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

 

 

त्यसअघि नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको पार्टीको केन्द्रीय समिति बैठकले गरेको छ ।

 

 

यसअघि नेकपाले फागुनमा पार्टीको महाधिवेशन गर्ने बताएको थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेर पार्टी विभाजन भएपछि नेकपाले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

 

 

 

नेकपाका महासचिव विप्लवले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेकपा (बहुमत)का नेताहरू धमेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई सच्चिएर पार्टीमा फर्किन अनुरोध गरेका छन् । तर, पार्टीको केन्द्रीय समिति बैठकले भने उनीहरूलाई गम्भीर आरोपहरू लगाएको छ ।

 

 

 

शुक्रबार सार्वजनिक गरेको पार्टीको विज्ञप्तिमा उनीहरूलाई ‘रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाइएको छ।

 

 

 

 

साथै विज्ञप्तिमा पार्टी विभाजनअघि ती नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू देखिन थालेको उल्लेख छ ।

 

 

 

महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा भाग लिने विषयले पार्टी विभाजन भएको भन्दै आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए ।

 

 

 

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत नेताहरूलाई सुध्रिएर आए एकता हुनसक्ने बताए । ‘प्रचण्डजीले पनि एकताको कुरा गर्नुहुन्छ ।

 

 

 

पुरानै ठाउँमा फर्किनु भयो भने हामी छलफल र बहस गर्न तयार छौं,’ उनले भने, ‘तर, तपाइँहरू सुध्रिनुहुन्न भने तपाइँहरूको अन्त्यलाई कसैले बचाउनेवाला छैन ।

 

अमेरिकी मन्त्रीले तिब्बती शरणार्थीलाई चीनविरुद्ध उचालेको आरोप

 

नेकपाका महासचिव विप्लवले अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमण आएको बेला तिब्बती शरणार्थीलाई भेटेर चीनविरुद्ध उचालेको आरोप लगाएका छन् ।

 

 

 

उनले यसलाई नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको भन्दै दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने दाबी गरे ।

 

 

 

‘अस्ति एमसीसी सम्झौता भयो । अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेका छन्,’ उनले भने, ‘अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।

 

 

 

उनले यसलाई नेपालमा पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका र दलाल पुँजीवादको आत्मसमर्पणवादी चरित्रले यस्तो भएको बताए ।

 

 

 

 

अहिलेकै अवस्थाको निरन्तरता भए कुनै पनि दिन नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुन सक्ने भन्दै त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवादको स्थापना गर्नुपर्ने बताए ।