अब बिदाको दिन सरकारी गाडी चलाउन अनिवार्य अनुमति लिनुपर्ने
काठमाडौं । अब सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने भएको छ । सार्वजनिक बिदाका दिन पनि सरकारी गाडी चल्ने क्रम बढेपछि गृह मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
सरकारले इन्धन जोगाउन भन्दै जेठ १ गतेदेखि परीक्षणका रुपमा हप्तामा दुई दिन आइतबार र शनिबार सार्वजनिक बिदा लागू गरेको छ ।
सो सँगै इन्धन खपत घटाउन भन्दै गृहले सार्वजनिक बिदाका दिन सवारी नचलाउन भनेको हो । अत्यावश्यक कामका लागि चलाउनु पर्ने भएमा पास लिएर मात्रै चलाउन पाइने मन्त्रालयले जनाएको छ ।
अब बिदाका दिन सरकारी गाडी चलाउनु पर्ने भएमा केन्द्रमा मन्त्रालय, आयोग, प्रतिष्ठान वा अन्य निकायको हकमा सम्बन्धित निकायको सचिवबाट जारी भएको पास लिनुपर्नेछ ।
त्यस्तै, प्रदेशस्तरमा प्रदेश सरकारका सचिवस्तरको निर्णयबाट माग गरी प्रमुख सचिव, जिल्ला तहमा कार्यालय प्रमुखको निर्णयले माग गरी प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।
यो व्यवस्था चाँडै कार्यन्वयनमा ल्याइने गृह मन्त्रालयले जनाएको छ ।